विश्वकप, सम्झना र सपना कतिपय

 ✍  दीपक पराजुली

जारी विश्वकपका खेलहरू हेर्दै गर्दा मेरो मनमा केही थान सम्झनाहरू सल्बलाउन थाले । हरेक साँझ अनि विदाका दिनमा फुटबलै खेलेर बितेको आफ्नो किशोरकालको याद थप गाढा भएर आयो । बिक्रमाब्द ५० को दशकको त्यो कालखण्ड नेपाली फुटबलको भर्भराउँदो युग थियो भन्न सकिन्छ । त्यो समयलाई फुटबलको जुझारु युग बनाउनमा सबैभन्दा ठूलो योगदान नेपाल टेलिभिजनको थियो भन्छु म । आधुनिकतातर्फ तीब्र गतिमा लम्कँदै गरेको त्यो बेलाको समाजमा सूचना र मनोरञ्जनको लागि सबैभन्दा आकर्षक साधन टेलिभिजन नै थियो ।

 

नेटिभीले विश्वकप फुटबलको मात्रै होइन ओलम्पिक फुटबल, एसियन कप, साफ कप लगायत घरेलु प्रतियोगिताहरूलाई प्राथमिकताका दिएर प्रत्यक्ष प्रसारण गर्दथ्यो । जसले विशेषगरी टिभी सुविधा भएका बजारबस्तीका युवाहरूलाई फुटबल खेल्न गहिरो प्रेरणा दियो । ब्राजिलको जादुई कला, अर्जेन्टिनाको जोश, जर्मनीको आक्रमण, इटालीको प्रतिरक्षा, अनि नेपालकै घरेलु टिमहरूको संघर्ष — सबैलाई एउटै स्क्रिनमा हेर्न पाउँदा युवाहरू उत्साहित हुन्थे ।

त्यसपछि नै टोलटोलमा फुटबल खेल्ने चलन सुरु भयो। हरेक टोलमा नौजवानहरूको आफ्नै क्लब हुनु एक प्रकारको स्वाभाविक संस्कृति जस्तै बन्न पुग्यो। किशोरहरू आफ्नै गोजीको पैसा मिसाएर फुटबल किन्थे। भलै शुरुआतमा खाली चौर, आलीबारी, बाँझो खेत र खलियानमा रमाइलोका लागि मात्रै फुटबल खेलियो होला । लाइनदेखि गोलपोस्टसम्म यकिन थिएन होला । तर बिस्तारै उनीहरूले फिफाका नियमहरू सिक्न थाले — अफसाइड, फ्री किक, पेनाल्टी, फेयर प्ले। अनि सबै प्रकारले व्यवस्थित हुँदै पनि गए । आफैंले अन्तर-टोल प्रतियोगिताहरू आयोजना गर्न थाले। टिम बनाउने, जर्सी छाप्ने, रेफ्री खोज्ने, दर्शक जुटाउने' सबै आफ्नै पहलमा गर्दथे । यो स्वतःस्फूर्त विकास देशका धेरै ठाउँमा एकैसाथ भइरहेको थियो । स्कूलहरूले पनि यो लहरलाई अँगाले। त्यसपछि विद्यार्थीहरूले पनि थप संगठित रूपमा फुटलब खेल्न पाए। असलमा टिभीमा प्रसारित राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरका खेलहरू हेर्दैगर्दा टिप्न र बुझ्न भ्याएका फुटबलको कला-कौशल र रणनीतिहरू ती नौजवानहरूका निम्ति "एकलब्य सिकाइ"को साधन थियो । कोही गोलकिपर बन्ने सपना देख्थ्यो, कोही स्ट्राइकर, कोही मिडफिल्डर। मैदानमा उनीहरूले आफैं प्रयोग गरेर सिक्थे।

कुनै पनि योजनालाई सफल बनाउन अचेल हामी 'मिसन ग्रासरुट'को कुरा गर्छौँ । ५० को दशकमा फुटबलका लागि हाम्रो जरा माथि उठ्नको लागि तयार थियो । तर बिडम्बना राज्यको विना कुनै लगानी आफ्नै प्रयत्नले उठेका ती खेलाडीहरूलाई राज्यले आफ्नो फुटबल नीतिको मूलधारमा जोड्नै सकेन । देश भनेको काठमाडौँ मात्रै हो भन्ने धङधङ्गी अहिले त छ भने ऊबेलको त झन् कुरै नगरौँ । नेपाली फुटबलको खेल शिविरमा 'ग्रासरूट'बाट आएका प्रतिभावान खेलाडी छिर्नुपर्नेमा 'दुषित राजनीति' छिर्न थाल्यो । म स्वयंले देखेका ती एक से एक प्रतिभावान खेलाडीहरू कता हो कता पलायन भइ गए । थाहा छैन, आजभोलि कहाँ छन् उनीहरू? समयको चक्रले उनीहरूलाई कता पुर्‍यायो, कसले खोज्ने? कहिलेकाहीँ तिनको सम्झनाले म भावुक हुने गर्छु । त्यो बेला उनीहरूले राज्यबाट योजनाबद्ध रुपमा व्यावसायिक प्रशिक्षण, राम्रो मैदान, उपकरण वा निरन्तरको प्रेरणा पाएका भए निःसन्देह आजको दिनमा नेपाली फुटबलले राम्रै उचाइ हासिल गर्नेथियो ।

उहिले राष्ट्रियस्तरमा ख्याति कमाएका  मनाङमर्स्याङ्दी, एनआरटी, आरसिटी जस्ता ए डिभिजनका क्लब तथा डिभिजन लिग प्रतियोगिताहरू खै ? खै कहाँ छ अखिल नेपाल फुटबल संघ- एन्फा ? डेढ लाख, पाँच लाख जनसंख्या भएका देशले वर्ल्डकप खेलिसके हामीले खेल्ने कहिले ? चीन र भारतले त खेल्न पाएनन् भन्ने कुतर्क साँधेर बस्ने हो र ?  हामीले त्यस्तो यसकारण पनि भन्न पाउँदैनौं कि फुटबलमा हामी नेपालीहरूमध्ये लाखौंलाख जुझारु युवा पुस्ताको उमेर र ऊर्जा सकिएको छ ।  ठूलो देश, ठूलो जनसंख्या र धनशक्ति हुँदैमा वर्ल्डकपमा स्थान पाइने होइन । जनस्तरमै क्रेज जो हुनुपर्छ र टोलटोलका किशोरहरूमाझ फुटबल एउटा संस्कृति भइ चल्नुपर्छ र त्यसलाई सुगम बनाउन राज्यले आफ्ना संस्थामार्फत् आवश्यक सहयोग गर्नुपर्छ । फुटबलको विकासको लागि आधारभूत रूपमा जुन "क्रेज" चाहिन्छ त्यो हामीमा थियो र छ पनि । विश्वकपमा हाम्रो सहभागिता त्यसैको विकास र विस्तारले सम्भव बनाउने हो ।

५० को दशकमा नेपाली फुटबलको माहोलमा जुन ज्वाला बलेको थियो, त्यसको प्रमाण ती स्वतःस्फूर्त टोलटोलका टिमहरू, अन्तर-टोल प्रतियोगिताहरू र स्कूल स्तरका खेलहरू हुन्। लाखौं जुझारु युवा पुस्ताले आफ्नो उमेर र ऊर्जा फुटबलमा खर्च गरे। उनीहरूले सपना देखे, मेहनत गरे । तर संस्थागत संरचना, दीर्घकालीन योजना र व्यावसायिकताको अभावमा त्यो ऊर्जा कुनै सूत्रमा बाँधिन सकेन । मैले शुरुमै दर्शाएको कुरालाई फेरि भनेँ कि नेपाली युवाहरुमा फुटबलको क्रेज बढाउनमा नेपाल टेलिभिजनको साह्रै ठूलो योगदान छ । यही कुरालाई अर्को शब्दमा भन्ने हो भने नेपाली फुटबलको विकासमा नेटेभीको योगदान जति छ त्यति कुनै पनि संघ संस्थाको छैन । नेपाली फुटबलको विकासको नाममा खडा भएको एन्फाको त झन् छँदैछैन । एन्फाको साह्रै अबमूल्यन गरेजस्तो सुनिएला तर यथार्थ यही हो । 

जुन संस्था जेको विकासको लागि खडा भएको हो त्यसका लागि गर्नुपर्ने नियमित काम समेत गर्न सक्दैन भने त्यसको अरु के काम ? सम्झनुस् त, हाम्रो घरेलु मैदानमा नियमित लिग नभएको कति भयो ? अनि फुटबल नखेलाएर राजनीति खेलेर बस्ने त्यो एन्फा नामक संस्थालाई भन्नुपर्ने चैँ के हो ? अहिले पनि एन्फाका पदाधिकारीहरुलाई प्रश्न गरियो भने उनीहरुले धेरै काम गरेका छौँ भन्ने होलान् । तर देशमा नियमित फुटबल लिग हुँदैन भने उनीहरुले गरेको जेसुकै चिजलाई काम भन्न मिल्दैन । त्यसैले भन्न सकिन्छ, आजको दिनमा नेपालमा फुटबलको नाममा अनेक थोक भइरहेको छ, फगत फुटबल चैं भइरहेको छैन ।

नेपाली फुटबललाई पुनः लयमा फर्काउन केही त गर्नैपर्छ । हालसालै एक मन्त्रीले खै कसको 'खुट्टा भाँच्नुपर्ने' भनेर बोले । मलाई लाग्छ, नेपाली फुटबललाई निस्तेज बनाउने दुषित राजनीतिको 'खुट्टा भाँच्न' जरुरी भइसक्यो । अन्यथा हामीले विश्वकप खेल्ने सपना देख्नै छाडे हुन्छ ।

Comments

Popular posts from this blog

मोह–मुमुक्षा

बजारतिर