बजारतिर
मैले देखेसम्म यो बजारमा , ब्यस्तताहरु मातिएर आउँछन् चिप्लिँदै जान्छन् हतारहरु आ–आफ्ना संगीन योजनाहरुको झोला बोकेर कुद्दैछन् , कुद्दैछन् , कुद्दैछन्...। दायाँ बायाँ अघि पछि प्रति एक जनालाई अर्को कुनै प्रति एक जनासँग प्रति दुई सेकेण्डको जोखना बाहेक अर्को कुनै हार्दिक सरोकार छैन । अलमलमा परेका कति आँखाहरु आफ्नो अनुहार खोज्दैछन् यहाँ , खोज्दैछ त्यहीँ अर्को एउटा होसियार आँखा तातो खल्तीहरुको अप्रेशन गर्न । जुनदिन बजारको बीचमा उभिएको त्यो शालिक ढल्यो , मानिसहरु इतिहास सुँघ्दै थिए वर्तमान निःशुल्क मरिरहेको समयमा “भविष्य भनेको अन्धकार हो... ! ” भन्दै कसैले वान्ता गरेको थियो । बजारको एउटा कुनमा निस्फिक्री हुर्किएको यो रुखलाई हेरेर गयो त्यो केटोले जो भरे राति यहाँ आत्महत्या गर्न आउने छ , भर्खर उसकी प्रेमिकाले उसको पवित्र प्रेममाथि दागवत्ति झोसिदिएकी थिई । त्यसैले , यो रुखलाई एकछिन उभिएर हेर्यो त्यो केटोले गलपासो लगाउन कति वित्ता डोरी चाहिन्छ भन्ने अनुमान पनि गर्यो । मैले देखेसम्म यो बजारमा , मान्छे छेडेर मान्छेहरु एकलौटि जीतको कामनाले कुण्ठा बोकेर छातिमा कुद्दैछन् , कुद...