दुःस्वप्न





दीपक पराजुली ।

भनिन्छ, यस्तो ठाउँमा कुनै बेला पर्दा खुल्ने गर्थ्यो । तर आजकल, प्रकाशको एउटा उज्यालो वृत्त मञ्चको कुनै निर्धारित क्षेत्रमा पोखिने गर्छ । अहिले म त्यही उज्यालो वृत्तको परिधिमा उभिएको छु । कोभिड-१९को फैलँदो प्रकोपलाई रोक्न लकडाउनको घोषणा भएपछि सार्वजनिक सम्मिलन हुने सिनेमाघरदेखि लिएर सबै प्रकारका सभा-समारोह र क्रिडास्थलहरु समेत बन्द भए । यही मेलोमा पोखरा थिएटरको गन्धर्व नाटक घर पनि बन्द भयो । तर अहिले म त्यही नाटक घरभित्र सुटुक्क छिरेको छु । यो नितान्त रित्तो स्टेजमा एउटा प्रस्तुति लिएर उभिएको छु । दर्शकदीर्घामा कुनै दर्शक छैनन् । अँहँ, पटक्कै छैनन् । तपाईँलाई लाग्ला लकडाउनका कारण दर्शक नभएका हुन् । तर यो आधा सत्य मात्र हो । बाँकी सत्य को हो भने, यो प्रस्तुति कुनै पनि किसिमका दर्शकहरुका लागि वर्जित गरिएको छ । केवल तिनले मात्र यहाँ प्रस्तुत हुने दृश्यको दर्शन गर्न सक्छन्, जो द्रष्टा हुन् । स्रष्टाले सिर्जिएको सृजनामाथि केवल अनि केवल द्रष्टाको मात्रै अधिकार हुन्छ, कुनै दर्शकको होइन । र यो नै यस प्रस्तुतिको पहिलो र अन्तिम नियम हो । चिन्ता नलिनुस्, यो प्रस्तुतिलाई दृष्टि दिने केही द्रष्टाहरु अवश्य यहाँ मौजुद छन् ।

यति कुरा दर्शाएपछि प्रकाशको परिधिबाट म बिलाउँछु । र त्यही ठाउँमा विविध रत्नजडित आभूषणले सुसज्जित ऐतिहासिक परिधानमा एक मानव अस्तित्व प्रकट हुन्छ । जसको शीर कल्कीयुक्त श्रीपेचले सुशोभित छ । नाकमुनी एकमुठा कालो जुँगा पालेको त्यो मानव कुनै कालखण्डको रजौटा हुनुपर्छ र अहिले त्यसलाई सिंहासनमा आसिन भएको देख्न सकिन्छ । जुँगालाई मजासँग ताउ लगाउँदै रजौटा भन्छ :

'जगत्जननी माता श्रीदुर्गा भवानीको जय होस्! हे द्रष्टा हो ! कुनै समय हिमवत्खण्डको यही सरहदभित्र मेरो पनि एउटा सानो राज्य थियो । जो कालक्रमसँगै विलाएर गयो । खासमा, गोर्खाली राजाले बलपूर्वक मेरो राज्यलाई चपाएर निलिदिएका हुन् । उनले आहार बनाउनु अघि त्यहाँ मेरो राज थियो । नियम, कानून, रीतिथिति सबै मेरो हुकुम बमोजिम चल्थ्यो । असलमा मेरो आदेश नै कानून थियो । धर्म मै थिएँ र दण्ड पनि मै थिएँ । रैतिका पालनहार मै थिएँ र तिनका तारणहार पनि मै थिएँ । म नै राज्यको सम्प्रभु थिएँ र सम्प्रभुता भनेकै म थिएँ । यो त उहिलेको कुरा भयो । उहिलेको कुरा खुइलियो भन्छन् । तर नखुइलिएको एउटा स्मृतिबाट म पीडित छु, जसलाई म मेटाउन चाहन्छु । एउटा खराब सपनाजस्तो लाग्ने त्यो दुर्घटना मेरो स्मरणमा बारम्बार आइरहन्छ, जसलाई म भुल्न चाहन्छु, जसले मेरो हृदयलाई बारम्बार घोचिरहन्छ । त्यही पीडालाई भुलाउन आज म यहाँ उपस्थित छु ।

हुन त यो कलाका पुजारीहरुको पवित्र प्राङ्गढ हो । म परेँ शक्तिको पुजारी । शक्तिको लागि रगत बगाउन परे पनि पछि नहट्ने म जस्ताको खुनी पैतालाले टेकेर रंगकर्मको यो पवित्र आँगनलाई अपवित्र बनाउनु हुन्थेन । यसरी कलाको मूल्य र मर्यादामाथि दगा धर्ने काम गर्नु हुन्थेन मैले । मलाई श्री नाट्यश्वर भगवानको श्राप नलागोस् ! हे द्रष्टा हो ! तपाईँहरु यसो भन्न सक्नुहुन्छ ।

तर, मेरो कुरा पनि सुन्नुहोस् ! यहाँका हरेक रैतिहरु राजा बन्न चाहन्छन् । र हरेक राजाहरु ईन्द्र बन्न चाहन्छन् । सिंहासन नामको ईन्द्रासन सबैलाई चाहिएको छ । मलाई राम्रोसँग थाहा छ, एकादेशमा हैन नेपालदेशमा एकदिन गोर्खाली राजाका उत्तराधिकारीले गद्दी त्यागेको घोषणा गरी हिँडेका थिए । उनी हिँड्ने वित्तिकै उनको त्यही आसनमा बसेर तस्बीर खिचाउनेहरुको भीड लाग्यो । के तपाईँ पनि त्यो भीडमा हुनुहुन्थ्यो ? नढाँटीकन भन्नुस् है ! सत्य सत्य ओकल्नुस्  ! हुनसक्छ, तपाईँले पनि राजाले त्यागेको त्यो आसनमा बस्नलाई जोडकातोड गर्नुभएको थियो कि ?'

रजौटाले बोल्दाबोल्दै मञ्चमा एक युवकको प्रवेश हुन्छ । निजको लवाइ सामान्य छ । निजले गोजीबाट मोबाइल निकाल्छ र रजौटातर्फ तेसार्दै भन्न थाल्छ :

-         ल जाओस् महाराज, जाओस् ! म तपाईँको भिडियो खिचिरहेको छु ।

-         को हौ तिमी ? किन खिच्छौ मेरो भिडियो ?

-         म युटुबर हुँ महाराज । अब भाइरल हुने पालो तपाईँको ! जाओस् जाओस् !

-         जान्नँ म । किन जाने ? कहाँ जाने ?

-         कहीँ पनि जान पर्दैन महाराज । तपाईँ यहीँ बस्नुहोस् । अघि जो बोलिराख्नु भाथ्यो त्यसैलाई जारी राख्नु ।

-         म बोलेर तिमी के गर्छौ ?

-         म तपाईँको यो भिडियोलाई युट्युबमा राख्छु । संसारभरका मान्छेले तपाईँलाई देख्छन् । चिन्छन् । तपाईँको कुरा सुन्छन् ।

-         , हो र ? मेरो अनुहार अनि मैले बोलेको सबै आउँछ ?  

-         आउँछ महाराज आउँछ, सबथोक आउँछ । ल भन्नुस् !

-         के भनम् त ?

-         केही यस्तो कुरा भन्नुस् जो सन्नसनीपूर्ण होस् ।

-         मसँग त्यस्तो सन्नसनीपूर्ण कुरा नै के होला र खै ।

-         तपाईँ आफ्नो कुरा मात्र भन्नुस् न त्यसलाई सन्सनीपूर्ण बनाउने जिम्मा त मेरो हो ।

-         म त यहाँ आफ्नो पीडा पोख्न आएको हुँ । काम चल्ला ?

-         चल्छ । मज्जाले चल्छ । पीडा भनेकै पोख्ने कुरा त हो नि । बोक्ने कुरा हो थोडी ? ल शुरु गर्नुस् !  

त्यसपछि रजौटाले ह्वाल्ह्वाल्ती आफ्नो पीडा पोख्न थाल्छ:

'अघि भनिसकेँ, हिमवत्खण्डको यही सरहदभित्र मेरो पनि एउटा राज्य थियो । गोर्खाली राजा राम शाहको झैं नियाँ निसाफमा शनैःशनैः मेरो पनि किर्ति फैलिन थालेको थियो । मेरो शासनमा प्रजाजन खुसी र सुखी थिए । तर जुन दुःखद प्रसंगका बारेमा म यहाँ बताउन लागेको छु, त्यो चित्रसेन नाम गरेको सिपाहीसँग सम्बन्धित छ । ऊ मेरो राज्यको एक इमानी सिपाही थियो । त्यसैले ऊ मेरो विश्वासपात्र बनेको थियो । त्यो बेला पनि जनस्थानमा मात्र हैन दरबारभित्रै पनि अनेक खाले षड्यन्त्रका व्यूहहरुको रचना भइरहन्थ्यो । त्यस्ता व्यूहहरुलाई तोड्न मैले अनेक जुक्ती लगाइरहन पर्थ्यो । अतः गोप्य रुपबाट मैले दरबारको रेखदेख गर्ने जिम्मा उही चित्रसेनलाई दिएको थिएँ । मेरो गाथ-गद्दीको रक्षा मात्र होइन, नियाँ-निसाफका कतिपय मामिलाहरुमा पनि चित्रसेनले मलाई शास्त्रोचित सल्लाह दिने गर्दथ्यो । दर्जाले सामान्य सिपाही भए पनि ऊ मेरा सबै सिपाहीहरुमध्ये प्रिय बन्न पुगेको थियो । यसकारण ऊ मेरो कृपापात्र मात्रै होइन दरबारभित्रका कतिपय भारदारहरुको निम्ति ईर्ष्याको पात्र पनि बनेको थियो ।

शिकार खेल्न जाने क्रममा एकदिन उसले नजिकको कुनै गाउँबाट एउटी युवतीलाई भगाएर ल्याएको कुरा मलाई जाहेर गरेको थियो । सो युवतीलाई उसले गान्धर्व विवाह गरि ल्याएको कुरा पनि मलाई बताएको हो । आफ्नो नयाँ दुलहीको शीलस्वभाव र गुणका बारेमा उसले मलाई प्रशस्त कुरा भनेको थियो । उसको मनसाय बुझेर नै मैले उसकी नयाँ दुलहीलाई मेरी महारानीको सेवामा लगाइदिएँ । यसबाट ऊ अति प्रसन्न थियो ।

तर एकदिन कुरा हो

रजौटाको कुरालाई बीचैमा काटेर 'पर्ख्नुस्!' भन्दै एक युवतीको प्रवेश हुन्छ । युवती आकाशी रंगको कुर्ता सलवार एवं सेतो एप्रोनमा सुसज्जीत छिन् । पहिरनले उनी स्वास्थ्यकर्मी भएको कुरा बुझ्न कुनै पनि द्रष्टालाई गाह्रो हुने छैन ।  

स्वास्थ्यकर्मी : खै, दुवैजनाले हात थाप्नुस् त !

युटुबर : किन थाप्ने ?

रजौटा : तपाईं यहाँ राहत बाँड्न आउनुभा हो ?

स्वास्थ्यकर्मी : हैन ।

युटुबर : त्यसो भए किन आउनुभा त ?

स्वास्थ्यकर्मी : कोरोनाबाट सुरक्षित बनाउन । स्यानिटाइजर र मास्क बाँड्न । ल पैला हात थाप्नुस् !

रजौटा : किन थाप्ने ?

स्वास्थ्यकर्मी : यो स्यानिटाइजरले हात सफा गर्न ।

रजौटा : यो झोलले मेरो हात पखाल्छ त ?

स्वास्थ्यकर्मी : अवश्य पखाल्छ ।

रजौटा : सुन्नु न !

स्वास्थ्यकर्मी : भन्नुस् न !

रजौटा : तपाईँसँग पाप पखाल्ने झोल पनि छ कि ?

स्वास्थ्यकर्मी : छ्या, छैन ! कति मात्तेको बुढो हो

युटुबर : मात्तेको बुढो होइन, उहाँ त कुनै बेलाको राजा हो ।

स्वास्थ्यकर्मी : जोसुकै होस् । कोरोनाले राजा पनि भन्दैन रंक पनि भन्दैन । ल छिटो हात थाप्नुस् !

त्यसपछि दुवैजनाले हात थाप्छन् । स्वास्थ्यकर्मीद्वारा दुवैको हातमा स्यानिटाइजर चुहाइन्छ । दुवैजनाले राम्ररी हात मल्छन् । स्वास्थ्यकर्मीद्वारा दुवैजनालाई मास्क दिइन्छ । दुवै जनाको थुतुनो मास्कद्वारा ढाकिन्छ । दुवै जनालाई भौतिक दूरी कायम गर्न लगाएर स्वास्थ्यकर्मी त्यहाँबाट बाहिरिन्छिन् । त्यसपछि रजौटाले युटुबरलाई पुनः कथा सुनाउन शुरु गर्छ :

-         अँ…, म के भन्दै थिएँ रे ?

-         तपाईँ एकदिनको कुरा भन्दै हुनुहुन्थ्यो महाराज ।

'हो, त्यो एकदिनको मात्र होइन, त्यो त्यही अलच्छिना दिनको कुरा हो । गैह्रागाउँको मुखिया हुल बाँधेर मेरो दरबारमा आयो । कुनै ठूलो विपत्तिको समाचार दिन आएजस्तो गरी मुखिया हकानिँदै राजसभामा प्रवेश गरेको थियो । दरबारको सभामा दाखिल हुनासाथ मुखिया भुइँमा लम्परासार परि रुँदै गिडगिडाउन थाल्यो: 'हे महाराज ! हे न्यायदाता ! मलाई अन्याय भयो महाराज, नियाँ निसाफ बक्सियोस् ! अन्यथा अहिल्यै मुखियाको यो पगरी हजुरको चरणमा अर्पित गरी म आत्मदाह गरी मर्नेछु '

मुखियाको बिलौना सुनेर म पनि दुःखी भएँ । मेरो राज्यमा सबैभन्दा बढि कुत उठाउने मुखिया ऊ नै थियो । अझ भन्ने नै हो भने मेरो राज्यको समृद्धिमा गैह्रागाउँको मुखियाको योगदान अतुल्य थियो । गैह्रागाउँको कुत तुलाको एकापट्टीको पल्लामा र बाँकी सबै गाउँको कुत अर्कोपट्टिको पल्लामा राख्ने हो भने पनि गैह्रागाउँकै कुतको पल्ला भारी हुन्थ्यो । मेरो राज्यको यस्तो हितकारी समृद्धिप्रदायक मुखियालाई के त्यस्तो अनर्थको आइलाग्यो र यसरी आत्मदाहसम्मको जिकिर गर्दैछ भनी जान्न म अतुर भएँ । र सोधेँ- 'भन मुखिया, तिमीलाई के त्यस्तो अन्याय पर्‍यो र यस्तो बिलौना गर्दैछौ?'

'हे महाराज, मेरो छोरो मरेको वर्षदिन पनि पुगेको छैन । उसकी विधवा अर्थात् मेरी बुहारी वनमा घाँसदाउरा गर्न जाँदा हराई । बुहारी कता गई भनी खोजी गर्दै जाँदा एउटा अधर्मी सिपाहीले बलजफ्ती हरेर लगेको कुरा गाउँले बताएपछि थाहा हुन आयो । अहिले हामीले त्यो पापी सिपाहीलाई भेटाएर वनमा लगी एउटा रुखमा बाँधेर राखेका छौँ । त्यो दुष्ट सिपाहीलाई मृत्युदण्ड दिनुपर्‍यो महाराज । अन्यथा, यो राज्यमा परस्त्रीमाथि अनाचार दुराचार गर्नेहरुको मनोबल बढ्छ । सारा राज्यको थिति बिग्रन्छ । अधर्म फैलिन्छ । अधर्मले राज्यलाई सलहले भन्दा छिटो सखाप पारिदिन्छ महाराज । त्यो दुराचारी सिपाहीलाई तत्कालै दण्ड दिइबक्सनु पर्‍यो महाराज ! यति निसाफ नभए त म गाउँको मुखिया भई टोपली यो राज्यमा बस्नुको कुनै अर्थ छैन । म बाँच्नुको पनि कुनै सार छैन'

यति भनेर मुखिया झन् छाती पिट्दै रुन थाल्यो । मुखियाको करुण क्रन्दनले सारा राजसभा स्तब्ध बनेको थियो । त्यो देखेर ऊप्रति मेरो मनमा अलि बढी नै सहानुभुति पलायो । एउटी विधवा स्त्रीको हुर्मत लिने त्यो पापी सैनिकलाई दण्डीत गर्नु अवश्य पनि म राजा हुनुको धर्म थियो । र असलमा न्याय पनि त्यही नै हुन्थ्यो । उसको कुरा सुनेर मैले अरुथोक केही बिचारै नगरी 'तिमी मुखिया र गाउँलेहरु समेत मिलेर त्यो सिपाहीलाई तत्काल त्यहीँ काटीदिनु ।' भनी आदेश दिएँ ।

मेरो आदेश सुन्नासाथ मुखियाले आफ्नो विलाप बन्द गर्‍यो । उसको मुहार सन्तोषले भरिएर आयो । मैले पनि उसले मागे बमोजिमकै फैसला मैले जो सुनाईदिएको थिएँ । तर त्यो क्षणमा मलाई यो थाहा थिएन कि मेरो त्यो फैसला कति महंगो हुनेवाला छ भनेर । निसाफ पाएको मुखिया र ऊसँगै आएका गाउँलेहरु समेतले दरबार उचालिने गरी मेरो जयजयकार गर्दै बाटो लागे ।

तर केही बेरपछि मेरी महारानीले जो खबर लिएर आइन्, त्यसले मलाई मरेतुल्य बनायो । महारानी पनि राजसभामा हुर्रीँदै आइन् । असिनपसिन हुँदै भन्न थालिन् 'महाराज, ठूलो भुल भयो ! यो अनर्थ हुनबाट रोक्नुस् ! चित्रसेनलाई बचाउनुस् !'

-         चित्रसेनलाई के भयो महारानी ? किन यसरी आत्तिँदै आयौ ?

-         महाराज, अघि हजुरले मुखियालाई जो आदेश दिनुभयो, त्यो दण्ड पाउने सिपाही अरु कोही नभएर तपाईँकै प्रिय सिपाही चित्रसेन हो । मुखियाको विधवा बुहारी र चित्रसेन दुवैले आफ्नो राजीखुसीले गान्धर्व विवाह गरेका हुन् । चित्रसेनमाथि मुखियाले लगाएको आरोप सरासर झुटा हो महाराज । 'चारकौडीको हैसियत नभएको प्युसोले मेरो बुहारी भगाउने' भनेर मुखिया असन्तुष्ट थियो । तपाईँलाई भ्रममा पारेर उसले चित्रसेनसँग बदला लियो महाराज !

महारानीको कुरा सुन्नासाथ मलाई सहस्र अरिंगालले एकैपटक चिले झैँ भयो । मुखियाको विश्वासमा परेर मैले दुईतर्फी झगडियाको कुरै नसुनै एकलौटी आदेश सुनाएको थिएँ । मैले तत्काल अघिको आदेश बदर गरी सिपाही चित्रसेनलाई अभयदान दिने आदेशको कागज थमाएर एउटा टोलीलाई पठाएँ । तर ढिला भइसकेको थियो । मुखियाले मलाई छल गरेर आफ्नो स्वार्थ सिद्ध गरिसकेको थियो । नजाने उसको त्यो स्वार्थसँग अरु कति इर्ष्यालुहरुको पनि स्वार्थ मिसिएको थियो ।

न्यायको विधानलाई परख नगरी एक पक्षको बिलौनामा बहकेर आदेश गर्दा मबाट ठूलो अपराध भएको थियो । त्यो अपराधले मलाई आज पर्‍यन्त पनि एउटा दुःस्वप्नले झैँ लखेटिरहेको छ । जो पाप मैले गरेँ, खै त्यसलाई कहाँ गएर पखालुँ ? कहाँ लगेर बिसाऊँ ? पश्चातापको आगोले मेरो आत्मालाई पिरोलिरहेको छ । थाहा छैन, कहाँ गएर मलाई यो पीडाबाट मुक्ति मिल्छ ।

त्यसै बखत मञ्चमा दुईजना सुरक्षाकर्मीको प्रवेश हुन्छ । युटुबरलाई देखेर पहिलो सुरक्षाकर्मी भन्छ ', यो त भागेर यहाँ आएको रैछ । समात् !'

सुरक्षाकर्मीलाई देखेर युटुबर भाग्छ । भागे पनि सुरक्षाकर्मीद्वयको हातबाट उम्कन सक्दैन । पक्राउ पर्छ । दोस्रो सुरक्षाकर्मीले युटुबरको कठालो समातेर लात्ताले चाकमा बजाउँदै भन्छ 'स्साला ! क्वारेन्टाइनबाट भागेर यहाँ इन्टरभ्यु लिन आको तँ । अब तँलाई तेरो बाउको इन्टरभ्यु देखाइदिन्छु, हिँड् !' सुरक्षाकर्मीले युटुबरलाई घिच्याउँदै क्वारेन्टाइनतर्फ लिएर जान्छ ।

पुनः क्वारेन्टाइनमा गई जाकिन पुगेपछि युटुबरले रजौटासँग लिएको भिडियो अन्तर्वार्तालाई युटुबमा अपलोड गर्नु अघि कस्तो आए छ भनी हेर्न थाल्छ । तर अचम्म के भइदिन्छ भने भिडियो उस्तै देखिँदैन जस्तो उसले खिचेको थियो । बरु भिडियोमा त्यस्ता दृश्यहरु चल्मलाउन थाल्छन्, जस्तो रजौटाले घटनाको बारेमा वर्णन गरेको थियो ।

हो, भिडियोमा रजौटा देखिन्छ । सिपाही चित्रसेन देखिन्छ । सिपाहीले भगाएर ल्याएको नयाँ दुलही देखिन्छ । मुखिया र उसको दलबल देखिन्छ । रजौटाको रानी देखिन्छ । ती सबले आआफ्नो भूमिकामा अभिनय गरिरहेका हुन्छन्, जस्तो घटनाको विवरण रजौटाले अन्तर्वार्ताको क्रममा सुनाएको थियो ।

रजौटाको भूमिकामा अन्तर्वार्ता दिने रजौटा नै छ । सिपाही चित्रसेनको भूमिकामा युटुबरले आफैँलाई देख्छ । सिपाहीले भगाएर ल्याएको नयाँ दुलहीको भूमिकामा अन्तर्वार्ताकै बीचमा स्यानिटाइजर र माक्स दिन आएकी स्वास्थ्यकर्मी युवतीलाई देख्छ । र मुखियाको भूमिकामा उसलाई पक्राउ गर्ने दोस्रो सुरक्षाकर्मीलाई देख्छ । रानी र अन्य भूमिका वहन गरेका पात्रहरु पनि उसलाई वर्तमान जीवनमै कतै चिनेजानेका मान्छेहरु जस्तै लाग्छ । यस्तो अजीबको स्थिती सामना गर्न पुगेको युटुबरलाई चक्कर त आउँछ, तर ऊ ढल्दैन ।

Twitter:  @deepak_para

Comments

Popular posts from this blog

मोह–मुमुक्षा

बजारतिर

Owned By Someone: Remarks on Property Law