बजारतिर

मैले देखेसम्म यो बजारमा,
ब्यस्तताहरु मातिएर आउँछन्
चिप्लिँदै जान्छन् हतारहरु
आ–आफ्ना संगीन योजनाहरुको झोला बोकेर
कुद्दैछन्, कुद्दैछन्, कुद्दैछन्...।
दायाँ बायाँ अघि पछि
प्रति एक जनालाई
अर्को कुनै प्रति एक जनासँग
प्रति दुई सेकेण्डको जोखना बाहेक
अर्को कुनै हार्दिक सरोकार छैन ।
 
अलमलमा परेका कति आँखाहरु
आफ्नो अनुहार खोज्दैछन् यहाँ,
खोज्दैछ त्यहीँ अर्को एउटा होसियार आँखा
तातो खल्तीहरुको अप्रेशन गर्न ।
 
जुनदिन बजारको बीचमा उभिएको त्यो शालिक ढल्यो,
मानिसहरु इतिहास सुँघ्दै थिए
वर्तमान निःशुल्क मरिरहेको समयमा
“भविष्य भनेको अन्धकार हो...!
भन्दै कसैले वान्ता गरेको थियो ।
 
बजारको एउटा कुनमा
निस्फिक्री हुर्किएको यो रुखलाई
हेरेर गयो त्यो केटोले
जो भरे राति यहाँ आत्महत्या गर्न आउने छ,
भर्खर उसकी प्रेमिकाले
उसको पवित्र प्रेममाथि दागवत्ति झोसिदिएकी थिई ।
त्यसैले, यो रुखलाई एकछिन उभिएर हेर्यो
त्यो केटोले गलपासो लगाउन
कति वित्ता डोरी चाहिन्छ भन्ने अनुमान पनि गर्यो ।
 
मैले देखेसम्म यो बजारमा,
मान्छे छेडेर मान्छेहरु
एकलौटि जीतको कामनाले
कुण्ठा बोकेर छातिमा
कुद्दैछन्, कुद्दैछन, कुद्दैछन...।
अघोषित युद्धको अत्तो थापेर
अघि सर्दैछन् आफ्नो चिहान खन्न,
यहीँनेर कुनैबेला एउटा अपरिचितले
“देशको भविष्य मरुभूमि हो...।”
भन्दै टायर सल्काएको थियो ।
 
कतिपटक यो बजारलाई
झुक्याएर कुदेका छन् शंकास्पद सवारीहरु
जसभित्र भोलिको अखवारमा छापिने
अनेकखाले समाचारहरु सवार थिए,
शरणार्थी बनेर बेचिए नागरिक...
बलात्कार अभियुक्तले पाए पुरस्कार...
ठगिएका बचतकर्ताको बेहाल ...
............................ ।
 
मैले देखेसम्म यो बजारमा,
अचेल हरेक थोक छन् बिकाउ
सबैभन्दा बढि यहाँ
रगतको मूल्यमा
र्यालको विज्ञापन
र आँशुको व्यापार हुन्छ ।

हो, मैले देखेसम्म बजारमा.........!


Comments

Popular posts from this blog

मोह–मुमुक्षा

Owned By Someone: Remarks on Property Law