तीन अद्भुत वचन


-दीपक पराजुली

सिद्धार्थलाई मैले आफ्नो आध्यात्मिक विचलनका दिनहरुमा पढेको हुँ । त्यस्तो विचलन अघिको समयमा म उग्र आध्यात्मिक भड्कावबाट ग्रसित थिएँ । सात वर्षदेखि म जुन आध्यामिक लाइनमा दौडिरहेको थिएँ, त्यसमा अचानक उथलपुथल आयो र त्यसले मेरो आध्यात्मिक मनोदशालाई गम्भीर रुपमा विचलित बनाई दिएको थियो । त्यसप्रकारको विचलनलाई पार लगाउने विकल्प, मार्ग वा सूत्र जे भनौँ सोको खोजीमा म लागिपरेको थिएँ ।




एकदिन पुस्तक पसलमा झुण्डाएर राखिएको सिद्धार्थमाथि मेरो आँखा प¥यो । पुस्तकको आवरणमा बुद्धको अद्र्धमुदित नयनवाला फोटो थियो । त्यस बखत मैले यो सिद्धार्थ गौतमको जीवनमा आधारित बुद्ध वाणीहरुले भरीएको कुनै कथानक किताव हो भन्ठानेको थिएँ । तर पुस्तकको प्रारम्भीक बाक्यले नै सिद्धार्थ शुद्धोधनको पुत्र नभएर कुनै ब्राह्मणको पुत्र भएको जानकारी दियो ।

पहिलो पटक सिद्धार्थ पढेपछि र आजपर्यन्त पनि एउटा प्रश्न म आफैँलाई गरिरहन मन लाग्छ, त्यो हर्मन हेस्सेले सिद्धार्थ कसरी लेख्न सक्यो होला है ? उसको जरा पश्चिममा थियो । ऊ लहरा फैलाएर पूर्वमा आयो । पूर्वीय अध्यात्म दर्शन र ज्ञान–परम्पराको गहिराईलाई उसले कुन हदसम्म नापेको रहेछ भन्ने कुरा सिद्धार्थ उपन्यास पढेपछि ज्ञात भइ नै हाल्छ ।

यतै पूर्वकै रचनाकारले लेखेको भए सिद्धार्थमा प्रकट अभिव्यक्तिप्रति आश्चर्य जाहेर गर्नु पर्ने कुनै कारण मैले खोज्ने थिइनँ तर पश्चिमको हर्मन हेस्से जसको पूर्वसँग न माता न पिता कतैबाट पनि कुनै साइनो नभएकोले त्यो तीन अद्भुत वचन कसरी लेख्न सक्यो ? भन्ने कुरामा म सधैँ घोत्लिने गर्दछु । यो कुराले मलाई सदैव गम्भीर बनाउँछ ।
हुन त सिद्धार्थका बारेमा धेरैले धेरै थरी कुरा(समीक्षा)हरु लेखिसकेका छन् । तर म यहाँ यो उपन्यासको समग्र समीक्षा गर्न नभई त्यही तीन वचनमा मात्रै केन्द्रित हुनेछु । जो यो आलेखको सीमा हो भनेर जान्दा हुन्छ ।

खैर, त्यो तीन वचन सबैलाई अद्भुत लाग्नै पर्छ भन्ने कुनै दरकार छैन । मलाई त्यस्तो लाग्यो । यो मेरो त्यस्तो नितान्त व्यक्तिगत अनुभूति हो जसमा मेरा वैयक्तिक आध्यामिक अनुभवका तत्वहरुले काम गरेका छन् । त्यो तीन वचन उपन्यासको मूलपात्र सिद्धार्थले भन्दैन । सिद्धार्थको पिताले भन्छ । सिद्धार्थको लागि भन्छ ।
सिद्धार्थ ज्ञानको खाजीमा घर छाडेर जान चाहन्छ । ऊ सन्न्यासी जीवनको प्रारम्भ गर्न चाहन्छ । त्यसको लागि उसले आफ्नो पितासँग आज्ञा माग्दछ । शुरुमा पिताले आज्ञा दिन इन्कार गर्दछन् । सिद्धार्थ हठ गर्छ । ऊ आफ्नो अडानमा टसको मस हुँदैन । उसको हठ अगाडि पिता गल्छन् र सिद्धार्थको उत्कठ अभिलाषालाई अनुमोदन गर्न बाध्य हुन्छन् । सोही सन्दर्भमा सिद्धार्थका पिताले व्यक्त गरेको भनाई जसलाई आधार मानेर तथ्यससंगत रुपमा मैले तीनवटा छुट्टा छुट्टै वचनमा विभाजन गरेको छु । एकछिन ती वचनहरुमाथि विमर्श गरौँ ।

वचन नंं १– ‘हुन्छ त नि, तँ जा, जंगलमा गएर सन्न्यासी भई !’
पिताले अस्वीकार गर्न सकेनन् र कुरा यही वचन नं. १ मै टुङ्गिन सक्थ्यो । पिता सकेसम्म सिद्धार्थले घर छोडेर नजाओस् नै भन्ने चाहन्थे । शुरुमा पिताले सिद्धार्थको प्रस्तावलाई ठाडै अस्वीकार गरेको कुरा सत्य हो । तर सिद्धार्थले हठ भन्दा पनि बढेर महाहठ ग¥यो । अन्ततः पुत्रको महाहठका सामु उनी गल्नु नै पर्यो र गले । सायद पिताभित्र पितृत्वको अहम् जो हुन्छ त्यसमा ठूलो चोट पनि प¥यो होला । भएको एक्लो सन्तानले घर त्यागेर जाने कुरालाई सहज र सहर्ष स्वीकार गर्ने स्थिति थिएन । पुत्रको महाहठका सामू लाचार हुनपुगेका पिताले आवेशाग्रही भएर ‘लौ जहाँसुकै जाने हो जा, मर !’ भन्न सक्थे होलान् तर भनेनन् । र उनले अर्को वचन थपे,

वचन नं. २– ‘यदि तैँले त्यहाँ ज्ञान प्राप्त गरिस् भने घरमा आएर मलाई पनि सिकाएस् !’
यहाँनेर दुई महत्वपूर्ण तथ्य प्रकट भएको छ । पहिलो, सिद्धार्थले ज्ञान प्राप्त गर्न सक्ने सम्भावनालाई पिताले संकेत गरेका छन् । यसलाई उनी अर्को ढङ्गबाट पनि व्यक्त गर्न सक्थे । कुरा सिम्पल थियो, सिद्धार्थ ज्ञान प्राप्तिको खातिर घरबाट जाँदै थियो, त्यसैले ‘पुत्र ! तँलाइ तेरो लक्ष प्राप्त होस्’ भनेर कामनायुक्त आशिष दिन सक्थे । त्यसप्रकारको आशिष दिनु एक असल पिताको कर्तव्य पनि हुन आउँथ्यो । वचन त्यसरी नै र त्यसैमा मात्र सीमित हुनसक्थ्यो । तर भएन ।

यही वचनको दोस्रो तथ्यले भन्छ कि यदि सिद्धार्थले ज्ञान प्राप्त गरेको खण्डमा ऊ घरमा आओस् र उसको पितालाई पनि वताओस्, त्यो सत्य प्राप्त गर्ने विधि सिकाओस् । यसबाट थाहा हुन्छ कि आखिर सिद्धार्थको पिता पनि त्यही ज्ञानको भोका रहेछन्, जुन ज्ञानलाई प्राप्त गरेपछि प्राप्त गर्नुपर्ने अरु कुनै ज्ञान बाँकी रहँदैन । त्यही परमज्ञान र त्यही परमसत्य । के कपिलवस्तुका सिद्धार्थ गौतम पनि त्यसैका लागि भौँतारिएर हिँडेका थिए भन्छन् नि होइन र ?

किन्तु कुरो यतिमै सकिएन । पिताले अर्को वचन पनि थपे,
वचन नं. ३ – ‘यदि ज्ञान प्राप्त भएन र नैरास्यता पाइस् भने घर फर्केर आएस् फेरि बाबुछोरा मिलेर ईश्वरको आरधाना गरौँला !’
अवश्य पनि कुरा वचन नं. २ मै पनि पुरा हुनसक्थ्यो होला तर सिद्धार्थको पिताको हृदय अनन्त आकाशजस्तै रहेछ भन्ने कुरालाई उनले प्रकट गरेको वचन नं. ३ ले प्रमाणित गरेको छ । यो वचन मार्फत उनले सिद्धार्थको लागि दोहोरै विकल्पलाई खुला राखेको देखिन्छ । यदि ज्ञान प्राप्त भएमा वचन नं. २ अनुसारनै हुने भयो अन्यथा भएकोे खण्डमा पनि उनको लागि घरको ढोका सदैव खुला रहनेछ र पुनः परम्परा देखि चलिआएको ईश्वरको आराधना बाबुछोरासँगै मिलेर गर्न सक्दछन् । यो हदसम्मको हार्दिकता एउटा पण्डित पिताको मनमा कसरी स्फुरित हुन सक्यो ? म गम्भीर रुपले घोत्लिने गर्छु ।

अवश्य पनि यी तीन वचनहरुमा पुत्रसामु एक पिताले आफ्नो मुमुक्षालाई छताछुल्ल प्रकट गरेका छन् । सत्य, ज्ञान, बोध र बुद्धत्वसँग उमेरको कुनै सरोकार हुँदैन भन्ने कुरा सिद्धार्थको पितालाई राम्ररी थाहा थियो । वेद, पुराण र शास्त्रका ज्ञाता पण्डित पितालाई राम्ररी थाहा थियो कि कसरी वालक सुकदेवका अगाडि अठासी हजार ऋषिहरु जो सुकदेवको उमेरभन्दा दोब्बर तेब्बर र सोभन्दा पनि बढि थिए, जो नातामा उनको पिता, पितामह, काका, मामा आदि इत्यादी पर्दथे तथापि ज्ञानप्राप्तिका लागि शिष्यभावमा शरणागत थिए ।

एउटा पिताले पुत्रलाई दिएको यो हदसम्मको उदात्त वचनले सिद्धार्थ उपन्यासको आध्यात्मिक गरिमालाई निश्चय नै उँचो राखेको छ । अन्यथा ज्ञानको सवालमा पुत्रका सामू एउटा पितको अहम् कसरी प्रचण्ड अग्नि झैँ उग्र भएर आउँछ भन्ने कुराको उदाहरण अष्टावक्रको जन्मकथाले प्रस्तुत गरेको छ ।

अष्टावक्र आमाको गर्भमा हुन्छन् । अष्टावक्रको पिता वेदपाठ गरिरहेको अवस्थामा गर्भबाटै अष्टावक्रले ज्ञानको चुनौती दिन्छन् । पिताको अहंकारमा ठूलो चोट पुग्छ । आवेशमा आएर पिताले ‘जन्मँदा आठ ठाउँमा बाङ्गीएर जन्मेस्’ भनी श्राप दिन्छन् ।

अर्को उदाहरण,
घर छोडेर गएका सिद्धार्थ गौतम ज्ञान प्राप्त भएपछि एकपटक पुनः कपिलवस्तु फर्किन्छन् । सारा देशवासी उनको दर्शन गर्न उर्लेर आउँछन् सिवाय यशोधरा । शुद्धोधनले गौतम बुद्धलाई ‘तैँले मलाई ठूलो चोट दिएको छस् । म तँलाई अझै पनि माफ गर्न सक्छु । आइजा यो राज्य समाल !’ भन्दछन् ।
पिताको अहंकारलाई देखेर गौतम बुद्ध भन्दछन् ‘म त्यो होइन जो यो दरबार छोडेर गएको थियो, म अर्कै भएर आएको छु । तपाईँ मलाई चिन्न सक्नु हुन्नँ ।’

पिताको अहंकार फेरि बोल्दछ ‘तँ मेरै छोरा होस् । के मैले तँलाई चिन्दिनँ ।’

यसरी पिता शुद्धोधनको अहंकारले जुहारी चलाएको थियो ।
खोज्दै जाने हो भने यसप्रकारका उदाहरणहरु शास्त्रमा मात्र होइन हाम्रै लौकिक जीवनमा पनि अनेक भटिन्छन् । यस्तै यस्तै उदाहरणहरुका बीचमा सिद्धार्थ उपन्यासको पिताका यी तीन वचनलाई एउटा विहंगम अपवाद बनेर उभिएको मैले पाएको छु । र यसलाई मैले अत्यन्त मूल्यवान वचन ठान्ने गरेको छु ।
अष्टावक्र र सिद्धार्थ गौतमका पिताहरुको तुलनामा सिद्धार्थ उपन्यासमा देखिएका युवा ब्राह्मण सिद्धार्थका पिताको सुझबुझ र उनको आत्मचेत निश्चयनै विशाल र व्यापक रहेको देखिन्छ । यसप्रकारको चेत आजका पिता, भोलिका पिता र अनन्तकाल सम्मका पिता (मातासमेत) हरुमा होला वा नहोला, खै के होला ? म बेला बखत यस्तै चिन्तनमा डुब्ने गर्छु ।

Comments

Popular posts from this blog

मोह–मुमुक्षा

बजारतिर

Owned By Someone: Remarks on Property Law